the-gift-of-tongues

अन्य भाषा बोल्ने वरदान

बाबेलको धरहरा बनाउने बेलासम्म सारा पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए। मानिसहरूले एकै मनको भएर बाबेलको धरहरा बनाए। तर त्यो कार्यचाहिँ “अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन” (उत्पत्ति ९:११) भन्ने परमेश्वरको वचन र करारको विरुद्ध थियो। त्यसैले धरहरा बनाउने कार्य रोक्नको निम्ति परमेश्वरले तिनीहरू सबैको भाषालाई खलबल पारिदिनुभयो।

त्यसपछि तिनीहरूले एक-अर्काको भाषालाई बुझ्न सकेनन्। अनि धरहरा बनाउने कार्य रोकियो र तिनीहरू पृथ्वीभरि तितरबितर भए। पृथ्वीभरि छरपष्ट भएका ती मानिसहरूले अलग-अलग भाषा बोल्न थाले। यसरी परमेश्वरले नै सारा संसारमा विभिन्न भाषाहरू बनाउनुभयो (हेर्नुहोस् उत्पत्ति ११:१-९)।

अन्य भाषा भनेको कुनै पनि व्यक्तिले बोल्ने मातृभाषाभन्दा फरक वा दोस्रो व्यक्तिको मातृभाषा हो। जस्तै मेरो मातृभाषा तामाङ हो। त्यसैले मेरो निम्ति राई, लिम्बु, गुरुङ, जापनीज, चाईनीज, कोरियन ... इत्यादि भाषाहरू अन्य भाषाहरू हुन्। ती भाषाहरू चाहे मलाई बोल्न आओस् या नआओस्। तर अन्य भाषा बोल्ने वरदान भनेको चाहिँ कुनै पनि व्यक्तिले बोल्ने मातृभाषा भन्दा फरक र दोस्रो व्यक्तिको मातृभाषा हो जुन उसलाई बोल्न आउँदैन तर परमेश्वरले उसलाई आवश्यक परेको खण्डमा वरदानको रूपमा दिनुहुन्छ।

मानौं, म परमेश्वरको कामको निम्ति कोरियामा छु। मलाई कोरियन भाषा बोल्न आउँदैन। तर परमेश्वरको कामको निम्ति उहाँले मलाई अन्य भाषा बोल्ने वरदान दिनुभयो र त्यसद्वारा मैले कोरियन भाषामा मज्जाले परमेश्वरको वचन प्रचार गरें भने त्यो मेरो निम्ति अन्य भाषाको वरदान हुनेछ। तर अर्काको मातृभाषा नै भएपनि यदि त्यो भाषा मलाई राम्रोसँग बोल्न आउँछ भने मैले त्यो भाषामा बोल्नु अन्य भाषाको वरदान हुँदैन।

त्यसैले अन्य भाषा बोल्ने वरदान भनेको नसिकेको मानव भाषामा बोल्न हामीले उपहारको रूपमा परमेश्वरबाट प्राप्त गर्ने अलौकिक शक्ति वा वरदान हो। अन्य भाषा बोल्ने वरदान सबैभन्दा पहिले पेन्तिकोसको दिनमा ख्रीष्टका चेलाहरूले पाएका थिए। तिनीहरूले त्यहाँ उपस्थित विभिन्न भाषा बोल्ने मानिसहरूको मातृभाषामा बोलेर सुसमाचार प्रचार गरेका थिए (प्रेरित २:१-११) र तिनीहरू सबैले आ-आफ्ना मातृभाषामा बुझेका थिए।

निश्चय नै पवित्र आत्माको वरदानहरूमध्ये अन्य भाषा बोल्ने वरदान पनि एक हो तर आजभोलि अन्य भाषा बोल्ने वरदानको बारेमा धेरै विश्वासीहरू भ्रममा परिरहेका छन्। त्यसैले अन्य भाषाको नाउँमा विभिन्न मण्डलीहरूमा विश्वासीहरूले संसारमै नभएको र कसैले नबुझ्ने हासउठ्दो शब्दहरूमा बरबराउने गरिरहेका छन्। अनि जसले बोल्दैनन् तिनीहरूचाहिँ निराश भएका हुन्छन्। तर तिनीहरूले बोलेका भाषाहरू परमेश्वरबाट हो कि दुष्ट आत्माबाट हो सो हामीले गम्भिरता पूर्वक जाँच्नुपर्छ। त्यसलाई जाँच्ने मापदण्ड भनेको बाइबल नै हो।

परमेश्वरले मण्डलीको विकासको निम्ति पवित्र आत्माद्वारा आत्मिक वरदानहरू दिनुहुन्छ। आत्मिक वरदानहरूले मण्डलीको हर क्षेत्रमा प्रगति ल्याउँदछ। कुनै पनि व्यक्तिले पाएको वरदानलाई विशेष गरी उसले आफ्नो निम्ति नभई अरूको हितको निम्ति प्रयोग गर्नुपर्दछ। (हेर्नुहोस् १ कोरिन्थी १२:७; रोमी १२:४-८) त्यसैले प्रेरित पावलले यसो भने, “मण्डलीमा अन्य भाषामा दश हजार शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले पाँच वटा शब्द अरूहरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु।” १ कोरिन्थी १४:१९।

पावलले किन यसो भने त? किनभने कसैले अन्य भाषामा बोल्दा त्यहाँ अर्थ खोल्ने कोही व्यक्ति छैन भने, उसले के भन्यो त्यो कसैले बुझ्दैन। त्यसैले यसले केही कुरामा पनि मण्डलीको विकास गर्दैन। परमेश्वरले कुनै पनि आत्मिक वरदान मण्डलीको विकासको निम्ति दिनुहुन्छ। आजभोलि धेरै मण्डलीहरूले अन्यभाषा बोल्ने वरदानलाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ, मानौं यो सबैभन्दा ठूलो र अनिवार्य रूपमा पाउनुपर्ने वरदान हो।

तर पावल भन्छन्, “परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, तब आश्चर्य काम गर्नेहरू र निको पार्ने वरदान पाएकाहरू, सहायता गर्नेहरू, प्रशासन गर्नेहरू, विभिन्न भाषा बोल्नेहरू नियुक्त गर्नुभएको छ।” १ कोरिन्थी १२:२८। ध्यान दिनुहोस् कि यहाँ अन्य भाषा बोल्ने वरदानलाई सबैभन्दा अन्त्यमा राखिएको छ। सबै वरदानहरूको आ-आफ्नै महत्त्व भए तापनि प्रेरित पावलले “अझ उच्च वरदानहरूको उत्कट इच्छा गर।”(१ कोरिन्थी १२:३१) भनेर भनेका छन्।

त्यो उच्च वा सर्वोत्तम वरदान भनेको प्रेम हो? त्यसैले पावल भन्छन्, “प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख।” १ कोरिन्थी १४:१। किनभने सबै वरदानहरूलाई जीवन्त पार्ने वरदान वा शक्ति भनेको नै प्रेम हो। त्यसैले पावलले प्रेमको बारेमा १ कोरिन्थी १३ अध्यायमा विस्तृत रूपमा व्याख्या गर्दै सम्पूर्ण आत्मिक वरदानहरू प्राप्त गरे तापनि यदि कसैसँग प्रेम छैन भने त्यो व्यक्ति केही पनि होइन भनेर भनेका छन् (हेर्नुहोस् १ कोरिन्थी १३:१-३)। प्रेम सबै विश्वासीमा हुनुपर्ने वरदान हो। किनभने यो परमेश्वरको मुख्य चरित्र हो।

हामीले यो बुझ्नुपर्छ कि “अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो।” १ कोरिन्थी १४:२२। तापनि विभिन्न मण्डलीहरूमा विश्वासीहरू अन्य भाषा भन्दै नबुझ्ने गोलमालको भाषाहरूमा बरबराउने र बोल्ने होडबाजी गरिरहेका छन्। अनि तिनीहरूलाई मानिसहरूले उच्च सम्मान, आदर र प्रशंसा चढाउने गर्दछन्, र जसले बोल्दैन उसलाई चाहिँ पवित्र आत्मा हुनुहुन्न भनेर निराश पारिरहेका हुन्छन्।

प्रेरित पावलले सबैभन्दा बढी अन्य भाषामा बोल्न सक्ने भएर पनि मण्डलीमा अन्य भाषामा बोल्दैनथे बरु अरूहरूलाई शिक्षा दिने हेतुले थोरै भएपनि आफ्नै दिमागले बोल्दथे। किनभने उनलाई यो राम्रोसँग थाहा थियो कि अन्य भाषामा बोल्दा दश हजार शब्द नै बोले पनि मण्डलीमा कसैले नबुझ्ने भएको हुनाले त्यसले मण्डलीमा केही शिक्षा वा प्रकाश ल्याउन सक्दैन। अनि त्यसले मण्डलीको केही विकास हुँदैन (१ कोरिन्थी १४:१८-१९)।

अन्य भाषा बोल्ने वरदान सबैभन्दा पहिले पेन्तिकोसको दिनमा ख्रीष्टका चेलाहरूले पाएका थिए। “पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे। स्वर्गमुनि भएको हरेक देशबाट ईश्वरभक्त यहूदीहरू त्यस बेला यरूशलेममा बसेका थिए। तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुने। तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, ‘के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र? त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं?’” प्रेरित २:४-८।

यहाँ हामीले देख्न सक्छौं कि अन्य भाषा बोल्ने वरदानद्वारा चेलाहरूले विभिन्न देशका (हेर्नुहोस् प्रेरित २:९-११) मानिसहरूको भाषामा सुसमाचार प्रचार गरेका र सुन्नेहरू सबैले आ-आफ्ना भाषामा सुनेका र बझेका थिए। यसबाट हामी निश्चित हुनुपर्छ कि यदि कसैले मण्डलीमा अन्य भाषामा बोल्छ भने त्यो भाषा संसारको कुनै पनि देशको कुनै पनि जातिले बोल्ने भाषा हुनुपर्छ र सुन्नेहरूले बुझ्नुपर्छ।

परमेश्वरले मण्डलीमा केवल तीन जनालाई मात्र अन्य भाषामा बोल्ने अनुमति दिनुभएको छ। त्यो पनि सबैले एकैचोटी बोल्ने होइन तर पालैपालोसँग। किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ, “कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढीमा तीन जनासमेतले पालोसँग बोलून्, र एक जनाले त्यसको अर्थ खोलोस्। तर अर्थ खोल्ने त्यहाँ कोही नभए बोल्ने मानिस मण्डलीको सभामा चूप रहोस्।” १ कोरिन्थी १४:२७-२८।

येशू शरीर हुनुहुन्छ र विश्वासीहरू उहाँका शरीरका अङ्गहरू हुन्। एउटै शरीरमा अलग-अलग अङ्गहरू भएझैँ परमेश्वरले हरेकलाई उहाँको इच्छाअनुसार अलग-अलग वरदान दिनुहुन्छ (हेर्नुहोस् १ कोरिन्थी १२:८-११)। त्यसैले हरेक विश्वासीले अन्य भाषा बोल्नुपर्छ भन्ने त्यस्तो अनिवार्यता छैन।

previous
अघिल्लो विषय
अर्को विषय
previous
chat