repentance

पापको निम्ति एउटै उपाए

यदि कोही मानिसलाई स्वर्ग जानु छ भने आफ्नो पापको निम्ति बाइबलअनुसार साँचो पश्चात्ताप गर्नुपर्छ। किनभने मानिस परमेश्वरको पवित्र व्यवस्था उल्लंघनद्वारा पापको दोषी भएको छ र अनन्त मृत्युको भागिदार भएको छ। त्यस अनन्त मृत्युको सजायबाट बच्नको निम्ति उसले परमेश्वरको अनुग्रह प्राप्त गरी धर्मी ठहरिनुपर्छ। तर एउटा पापी मानिस कसरी परमेश्वरजस्तै धर्मी बन्न सक्छ? त्यो त केवल ख्रीष्ट येशूद्वारा मात्र सम्भव छ। तर हामी कसरी ख्रीष्टमा आउने? धेरैको यही प्रश्न हुनसक्छ, जस्तो पेन्तिकोसको दिनमा धेरैले कराउँदै सोधेका थिए, “हामीले के गर्ने?” तब प्रेरित पत्रुसको पहिलो शब्द वा वचन थियो, “पश्चात्ताप गर” (प्रेरित २:३७-३८)।

बप्तिस्मा दिने यूहन्नाले परमेश्वरको वचन प्रचार गर्दै मानिसहरूलाई भने, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” मत्ती ३:२। प्रभु येशूले पनि यही सन्देशका साथ आफ्नो सेवाकाई सुरू गर्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” मत्ती ४:१७। मुक्तिको लागि पश्चात्ताप गर्नु आवश्यक छ। पश्चात्तापद्वारा दयाको ढोका खोलिन्छ र मुक्ति प्राप्त हुन्छ। त्यसैले प्रेरित पत्रुसले मानिसहरूलाई यसरी भने, “यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्।” प्रेरित ३:१९।

अब प्रश्न यो छ कि पश्चात्ताप भनेको के हो र कसरी गर्ने? पश्चात्तापको बारेमा दिदी एलेन जी. ह्वाईट भन्नुहुन्छ, “पश्चात्ताप भनेकै पापप्रति दु:खी हुनु र त्यसबाट फेरिनु हो। हामी पाप तबसम्म त्याग्दैनौं जबसम्म त्यसको खराबी देख्देनौं, जबसम्म हामी हृदयदेखि नै पापबाट तर्किदैनौं तबसम्म जीवनमा साँचो परिवर्तन आउनेछैन।” शान्तिको बाटो २३.२।

धेरै विश्वासीहरूले पनि साँचो पश्चात्ताप कसरी गर्ने भनी जानेका हुँदैनन्, किनभने तिनीहरूले पश्चात्तापको साँचो अर्थलाई बुझेका हुँदैनन्। त्यसैले तिनीहरू केवल आफूले गरेको पापको निम्ति दु:खित भएर बाहिरी तवरले मात्रै क्षणिक सुधार ल्याउन खोज्छन्, किनभने पापको कारण पाउने दण्डदेखि तिनीहरू डराएका हुन्छन्। बाइबलअनुसार यसलाई पश्चात्ताप होइन तर विलाप गरेको भनिन्छ। जस्तै: एसावले आफ्नो जन्मसिद्ध जेष्ठ-अधिकार गुमाउँदा विलाप गरेको थियो। तरवार हातमा लिएर बाटोमा उभिरहेका स्वर्गदूतदेखि डराएर बालामले गरेको थियो। त्यसरी नै यहूदा इस्करियोतले जब प्रभु येशूलाई धोका दिएपछि आफ्नो गल्ती स्वीकार गरेर भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” मत्ती २७:४।

केवल पाप स्वीकार गर्नु भनेको दोषी आत्माको दबाव मात्र हो। आफूले गरेको पापको दण्ड भोग्नुपर्ने चाल पाएपछि तिनीहरूको मनमा दोषी आत्माले पाप स्वीकार उत्पन्न गराउँछ तर यो पश्चात्ताप भने होइन। किनभने त्यहाँ पापप्रति कुनै पश्चात्तापको भावना र साथै पापबाट तर्किने कुरा छैन। मिश्रदेशको राजा फारोले पनि आफ्नो पापको दण्डबाट उम्कनको निम्ति पटक-पटक आफ्नो पाप स्वीकार गरेको थियो। तर जब विपत्ति हट्थ्यो तब फेरि आफ्नो पापमै फर्किन्थ्यो।

साँचो पश्चात्तापमा यी ३ वटा कुराहरू अनिवार्य रूपमा सम्मिलित भएको हुन्छ:
(१) आफूले गरेको पापलाई स्वीकार गर्नु।
(२) त्यस पापको निम्ति दु:खित हुनु।
(३) फेरि नगर्ने वाचासहित पापदेखि तर्कनु।

उदाहरणको निम्ति हामीले राजा दाऊदलाई हेर्न सक्छौं। आफ्नो पापको महसूस भएपछि अति दु:खित हुँदै उनले परमेश्वरसँग यसरी विनम्र प्रार्थना गरे, “किनकि मेरा अपराधहरू म जान्दछु, र मेरो पाप सदा मेरो सामुन्ने छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु। हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। मलाई तपाईंको उपस्थितिबाट नहटाउनुहोस्, न त मबाट तपाईंका पवित्र आत्मा लैजानुहोस्।” भजनसंग्रह ५१:३-४,७,१०-११।

यो राजा दाऊदको साँचो पश्चात्ताप थियो। किनभने उनले केवल आफ्नो पापलाई मात्र स्वीकार गरेनन्, तर आफूले गरेका पापप्रति शोक तथा पश्चात्ताप गरे। उनले मनको शुद्धता र परमेश्वरको आत्माको उपस्थितिको अभिलाषा गरे, पापदेखि पूर्णरूपले तर्के र फेरि त्यो पाप गरेनन्।

धेरै मानिसहरू सोच्दछन्, कि म पश्चात्ताप गरेर ख्रीष्टमा आउनेछु। तर त्यो असफल प्रयास हो। किनभने परमेश्वरको आत्माको सहायताविना कसैले पनि साँचो पश्चात्ताप गर्न सक्दैन। त्यसैले पहिले हामी जस्तो छौं त्यस्तै ख्रीष्ट येशूमा आउनुपर्दछ र सनातनका चट्टानमाथि बजारिएर टुक्रा-टुक्रा हुनुपर्दछ। त्यसको निम्ति येशूले सबैलाई यसरी बोलाइरहनुभएको छ, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” मत्ती ११:२८।

मानिस एक्लैले आफैं कहिले पनि पश्चात्ताप गर्न सक्दैन। किनभने ऊ पापको कमारा भएको छ र ऊ आफैं पापको बन्धनबाट कहिले पनि मुक्त हुन सक्दैन। तर जब कसैले ख्रीष्ट येशूको बोलावटअनुसार आफ्नो पापको भारी उहाँमा बिसाउँछ, तब तुरुन्तै परमेश्वरको आत्माले उसलाई पश्चात्तापमा डोऱ्याउनुहुन्छ। जस्तो प्रेरित पावलले भनेका छन्, “परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोऱ्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?” रोमी २:४। अब बल्ल उसले चाह्यो भने वा यसको विरोध गरेन भने आफ्नो पापको निम्ति पश्चात्ताप गर्नसक्छ। परमेश्वरले “इस्राएलको पश्चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो।” प्रेरित ५:३१।

त्यसकारण यो पश्चात्ताप भनेको परमेश्वरको उपहार हो। हरेक असल वरदान परमेश्वरबाट आउँछ। परमेश्वरले मानिसलाई आफ्नो प्रेम देखाउनुहुन्छ, मानिसलाई उसको पाप प्रकट गर्नुहुन्छ र उहाँको आत्माले बिन्ती याचना गर्दै पापी मानिसलाई पश्चात्तापमा डोऱ्याउनुहुन्छ। तब मानिसलाई आफ्नो पाप स्वीकार गर्न, त्यसलाई त्याग्न र आफूलाई उहाँको अधीनमा राख्न केही गाह्रो हुँदैन। किनभने “साँचो पश्चात्तापले मानिसलाई आफ्नो दोष आफैं बोक्न प्रेरित गर्छ र त्यसलाई कुनै छल वा ढोंगविना स्वीकार गर्दछ।” शान्तिको बाटो ४०।

स्वभावैले मानिसहरू आफ्नो नराम्रो आचरण र कामहरूले लज्जित भएर आफ्ना पापहरू ख्रीष्ट येशूलाई बताउन वा दिन सकिरहेका हुँदैनन्। तर जब मानिसले परमेश्वरको खिँचाईको विरोध नगरीकन आफ्ना सबै पापहरूलाई त्यागेर सत्यताको मार्गमा हिँड्ने इच्छा गर्छ, तब तुरुन्तै पवित्र आत्माले उसलाई सत्यताको मार्गमा डोऱ्याउनुहुन्छ र पापमाथि विजयी हुने शक्ति दिनुहुन्छ।

त्यसैले हामीले कहिले पनि आफैं राम्रो हुने अवसरलाई पर्खिरहनुहुँदैन। धेरैले म राम्रो छैनँ। के मजस्तो पापीलाई येशूले स्वीकार गर्नुहुन्छ र? जब म मेरा सबै नराम्रा कामहरूलाई त्याग्छु र राम्रो हुन्छु, तब मात्रै येशूलाई ग्रहण गर्नेछु भनेर समय खेर फालिरहेका हुन्छन्। तिनीहरूलाई परमेश्वर यसो भन्नुहुन्छ, “के कूशीले आफ्नो छालाको रङ्ग बद्लन सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बद्लन सक्छ र? न त तँ दुष्ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ।” यर्मिया १३:२३।

ख्रीष्ट पापीहरूको मित्र हुनुहुन्छ। उहाँले पापीलाई होइन तर पापलाई घृणा गर्नुहुन्छ। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै उहाँकहाँ जानुहोस्। एउटा असल मित्रलाई जस्तैगरी आफ्ना सबै पापहरू केही पनि नलुकाइकन उहाँलाई भन्नुहोस्। प्रभु येशू तपाईंलाई ग्रहण गर्न र पापको कैदबाट मुक्त पार्न हरपल तयार हुनुहुन्छ। यदि तपाईंले आफ्ना पापहरू उहाँलाई दिनुभएन भने, अथवा आफ्नो दूषित हृदय उहाँलाई सुम्पिनु भएन भने, उहाँले तपाईंलाई कसरी शुद्ध पार्नुहुन्छ र नयाँ हृदय दिनुहुन्छ? किनभने उहाँले तपाईंको इच्छाको कदर गर्नुहुन्छ र तपाईंको इच्छा र अनुमतिविना तपाईंको जीवनमा केही पनि गर्नुहुन्न। तापनि उहाँले तपाईंलाई बचाउन यसरी बिन्ती याचना गरिरहनुभएको छ, “हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्।” हितोपदेश २३:२६।

प्रिय मित्र! सायद तपाईं धेरै ठूलो पापी हुनुहुन्छ होला। तपाईंमा धेरै खराब बानीहरू र आचरणहरू छन् होला, तर तपाईंको सबै पाप र जस्तोसुकै पापको क्षमाको निम्ति येशूको क्रूसको बलिदान पर्याप्त छ। त्यसैले आजै आफ्नो हृदय येशूलाई दिनुहोस्। ढिलो हुनुभन्दा पहिल्यै, समय छँदै उहाँकहाँ जानुहोस्। उहाँले तपाईंलाई शुद्ध पार्नुहुनेछ र नयाँ सफा हृदय दिनुहुनेछ।

previous
अघिल्लो विषय
अर्को विषय
previous
chat