present-truth

वर्तमानको सत्यता

वर्तमानको सत्यता भनेको वर्तमान समयमा चाहिने सत्यता हो। अगमवाणीको आत्माले यसरी भनेको छ, “परमेश्वरको वचनभित्र त्यहाँ धेरै बहुमूल्य सत्यताहरू छन् तर मण्डलीको निम्ति “वर्तमानको सत्यता” चाहिन्छ।” अर्ली राइटीङ्गस् पृष्ठ ६३.१ । प्रेरित पत्रुसले पनि वर्तमानको सत्यतामा नै स्थिर हुन परमेश्वरका जनहरूलाई सधैँ सम्झाउने गर्दथे (२ पत्रुस १:१२) । वर्तमानको सत्यता युगअनुसार जहिले पनि फरक हुन्छ तर सुसमाचार सबै युगहरूमा एउटै हो। नोआको समयमा वर्तमानको सत्यता भनेको “परमेश्वरले जलप्रलयद्वारा संसारलाई नष्ट गर्दै हुनुहुन्छ, सबै नोआको जहाजभित्र आउनु” भन्ने थियो। हामीलाई थाहा छ, कि ज–जसले त्यस वर्तमानको सत्यताको सन्देशलाई स्वीकार गरी जहाज भित्र गए तिनीहरू मात्रै बाँचेका थिए। लोतको समयमा “सदोम र गमोरा सहरलाई स्वर्गबाट आगो झारेर नष्ट गर्ने” भन्ने सन्देश नै वर्तमानको सत्यता थियो। बप्तिस्मा दिने यूहन्नाको समयमा वर्तमानको सत्यता यूहन्नाद्वारा प्रचार गरिएको “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा!” भन्ने येशू मसीहको आगमनको बारेमा थियो। मानिसहरूलाई येशू मसीहको पहिलो आगमनको लागि तयार गर्नु नै त्यस समयको वर्तमानको सत्यता थियो। आजको युगको लागि वर्तमानको सत्यता भनेको तीन स्वर्गदूतहरूको सन्देश हो। यो सन्देशलाई प्रकाश १४:६–१४ पदहरूमा हामीले पढ्न पाउँछौं। यो सन्देशद्वारा मानिसहरूलाई पशु र त्यसको मूर्तिमाथि र त्यसका नाउँका संख्यामाथि विजय गराई प्रभु येशूको दोस्रो आगमनको लागि तयार पार्नेछ।

मूर्तिपूजक संसारबाट इसाई संसारमा मुक्तिको गलत सन्देश अन्धकारको युगदेखि नै खतरानाक भाईरसजस्तै गरी सर्दै आएको छ। वाईक्लीफ, जोहन हस् र मार्टिन लुथर जस्ता प्रोटेस्टेन्ट सुधारवादी धर्मगुरुहरूले मुक्तिको गलत सन्देशलाई पर्दाफास गरी “विश्वासद्वारा येशू ख्रीष्टमा मात्र मुक्ति पाइन्छ” भन्ने साँचो सुसमाचारलाई प्रकाशमा ल्याएका थिए। पृथ्वीको अन्तिम समयमा प्रचार गरिने सुसमाचारमा अनिवार्य रूपमा अनन्तको सुसमाचार वा तीन स्वर्गदूतको सन्देशलाई समावेश गरिनुपर्दछ। किनकि तीन स्वर्गदूतको सन्देशद्वारा मानिसहरू प्रभु येशूको दोस्रो आगमनको निम्ति तयार हुनेछन् (प्रकाश १४:१२–१४) । त्यसैले प्रभु येशूको आगमन हुनुभन्दा पहिले पृथ्वीमा रहने हरेक कुल, भाषा र जातिका मानिसहरूलाई यो वर्तमानको सत्यतालाई अवश्य पनि प्रचार गर्नुपर्दछ। पहिलो स्वर्गदूतको सन्देशमा चार वटा महत्त्वपूर्ण कुराहरू छन् (प्रकाश १४:६,७) ।

(क) “परमेश्वरसँग डराओ”: यसको अर्थ दुष्टतालाई घृणा गर्नु हो। अभिमान, अहंकार, खराब चालचलन र भड्काउने कुरालाई त्याग्नु हो (हित्तोपदेश ८:१३) । सम्पूर्ण खराबी अर्थात् पापलाई त्यागेर जे असल छ त्यो गर्नु हो (भजनसंग्रह ३४:११–१४) र परमेश्वरको आज्ञा मान्नु (उपदेशक १२:१३; उत्पत्ति २२:१२) तथा पाप माथि विजयी हुनु हो।

(ख) “उहाँलाई महिमा देऊ”: परमेश्वरको महिमा भनेको उहाँको चरित्र हो। उहाँको मुख्य चरित्र प्रेम हो। हामी परमेश्वरको स्वरूपमा हुनु नै हामीले उहाँलाई महिमा दिनु हो। यो तब हुन्छ जब हामीले हाम्रो पुरानो स्वभावलाई त्यागेर पूर्णरूपमा येशूको स्वभाव र चरित्रमा नयाँ हुन्छौं। जब हामी नयाँ हुन्छौं तब हामी उहाँको चरित्रको प्रतिलिपी दश आज्ञालाई पालन गर्न आनन्दित हुन्छौं। अर्को शब्दमा भन्ने हो भने जे–जे कुराहरू खाँदा, लगाउँदा र बोल्दा परमेश्वरको महिमा हुन्छ त्यही सबै कुराहरू गर्नु नै परमेश्वरको महिमा गर्नु हो (१ कोरिन्थी १०:३१) । हामी ज्योतिको सन्तान भएकोले हामी पनि हाम्रो सुकर्महरूद्वारा यस अन्धकारमय संसारमा ज्योतिझैँ चम्कनु पर्दछ। तब हामीले परमेश्वरलाई महिमा दिएका हुन्छौं।

(ग) “उहाँको इन्साफको घडी आएको छ”: यसले सबैजना परमेश्वरप्रति उत्तरदायी छन् भनेर सुचित गर्दछ। न्याय परमेश्वरको राज्यको जग हो। धेरैले भन्दछन् मानिसको मृत्युपछि मात्रै न्याय हुन्छ। तर अहिले स्वर्गको महापवित्र स्थानभित्र छानविनको न्याय चलिरहेको छ (दानिएल ८:१४; ९:२४–२७)। प्रभु येशूको दोस्रो आगमनभन्दा पहिले छानविनको न्याय सकाउनुपर्ने हुन्छ। सबै मुद्दाहरूको छिनोफानो हुनुपर्ने हुन्छ। जब प्रभु येशूले छानविनको न्यायको कार्य सकाउनुहुन्छ तब पापी भेटाइएकाहरूको त्यसपछि पापको क्षमा हुनेछैन र धर्मीजनहरू कहिल्यै पनि फेरि पापमा फस्नेछैनन् (प्रकाश २२:११) ।

(घ) “सृष्टिकर्तालाई दण्डवत गर”: सृष्टिकर्ता परमेश्वरलाई मात्र दण्डवत गर्नु नै सुसमाचारको केन्द्र विन्दु हो। यो आज्ञाले हर प्रकारको मूर्तिपूजालाई इन्कार गर्दछ। श्रद्धाका साथ परमेश्वरको महिमा, प्रशंसा र आराधना गर्न उहाँले सबै युगका मानिसहरूलाई बोलाउनुभएको छ। केवल मूर्तिपूजकहरूले मात्र नभई अधिकांश इसाईहरूले पनि मूर्तिपूजा गरिरहेका हुन्छन्। इसाईहरूले कसरी मूर्तिपूजा गर्छन् भनेर छक्क नपर्नुहोस् । जसले सृष्टिकर्ता परमेश्वरलाई भन्दा बढी अरू कुरालाई महत्त्व दिन्छ वा त्यसको प्रशंसा गर्छ त्यो मूर्तिपूजा हो। परमेश्वरलाई भन्दा माथि राखेका ती वस्तुहरू नै तिनीहरूका परमेश्वर हुन् (फिलिप्पी ३:१९; एफिसी ५:५) । “हामीले प्यारो सम्झेका जुनसुकै कुराहरूले परमेश्वरप्रतिको हाम्रो प्रेम घटाइदिन्छ वा उहाँलाई दिनुपर्ने सेवामा बाधा दिन्छ भने त्यसलाई नै हामीले देवता बनाउँछौं।” Sons and Daugthers of God ५६ ।

दोस्रो स्वर्गदूतको सन्देशले बेबिलोनको पतन भयो भनी घोषणा गर्छ। त्यसकारण परमेश्वरका जनहरूलाई तुरुन्त त्यसबाट बाहिर निस्किआउने सन्देश दिन्छ (प्रकाश १४:८; १८:१४) । जबसम्म तपाईंले बेबिलोन को हो भनेर जान्नुहुन्न त्यसबाट तपाईं कसरी बाहिर आउने? तपाईं बेबिलोनसँगै नाश हुनेछ तर परमेश्वरले त एकजना पनि नाश नहोस् भनी चाहनुहुन्छ। त्यसकारण उहाँले बेबिलोनको रहस्यलाई खोलिदिनुभयो। बेबिलोनले मुख्यतः क्याथोलिक चर्चलाई नै संकेत गर्दछ र साथै अरु २ वटा संस्थाहरूलाई पनि यसले देखाउँदछ।

(१) पोपतन्त्र (क्याथोलिक चर्च): पोपतन्त्रको बारेमा दानियल ७ र प्रकाश १३ अध्यायहरूमा स्पष्ट चित्र पाइन्छ। जसको घातक चोट निको हुँदैछ र सारा संसार अचम्मीत भएर त्यसको पछि लाग्दैछन्। विश्वको राजनीतिमा पोपतन्त्रको प्रभाव, विचार र सामाजिक मुद्दा चमत्कारपूर्ण रहेको छ।

(२) पतित भएका प्रोटेस्टेन्ट चर्चहरूः जुन मण्डलीहरूले क्याथोलिक मण्डलीको गलत शिक्षाको मद्य पिएर मातेका छन् र हाल ती मण्डलीहरू क्याथोलिक मण्डलीसँग मिल्न गएका छन्।

(३) मूर्तिपूजक धर्महरूः यसको प्रभाव प्राचीन समयदेखि अहिलेको नयाँ युगमा पनि विभिन्न ढाँचाहरूमा फैलिरहेको छ।

दोस्रो स्वर्गदूतको सन्देशः यो सन्देशद्वारा आधुनिक बेबिलोनको पतन भएको घोषणा गरेको छ जो एक समय शुद्घ र पवित्र थियो तर अब तिनको पतन भइसकेको छ। यो बेबिलोनचाहिँ मुख्यतः रोमन क्याथोलिक मण्डली हो। त्यसपछि पतित भएका प्रोटेस्टेन्ट मण्डलीहरू र मूर्तिपूजक विभिन्न धर्महरू ती संस्थाहरूबाट र तिनीहरूका गलत शिक्षाहरूबाट निस्केर सत्यतामा आउनु नै बेबिलोनबाट निस्किआउनु हो।

तेस्रो स्वर्गदूतको सन्देशः यो सन्देशले पशु र त्यसको मूर्तिलाई पुज्ने र निधार वा हातमा पशुको छाप लिने विरुद्धमा र साथै त्यसको परिणामको बारेमा चेतावनी दिन्छ (प्रकाश १४:९–१४) । यो पशुले पोपतन्त्र (क्याथोलिक मण्डली) लाई संकेत गर्दछ। (दानिएल ७ र प्रकाश १३ अध्याय पढ्नुहोस्) । पशुको मूर्ति भनेको क्याथोलिक मण्डलीको धार्मिक नियमहरूलाई कानूनी अधिकार दिने र त्यस कानून नमान्नेलाई दण्डदिने शक्ति वा देशको उदय हुनु हो। जुन नियमलाई अमेरिकाले निकट भविष्यमा नै आफ्नो देशको संवैधानिक कानून बनाएर आफ्नो देशदेखि लिएर सारा संसारमा मान्न कर लगाउने छ। त्यसमा आइतबार आराधना गर्ने नियम प्रमुख विषय हुनेछ (प्रकाश १३:११–१६) । जसले सातौँ दिन शबाथलाई पवित्र नराखी त्यसको सट्टामा आइतबारलाई पालन गर्नेछ त्यसले पशुको छाप लिएको ठहरिनेछ। हामीले यहाँ क्याथोलिक मण्डलीको सिस्टमको बारेमा भनिरहेकाछौं जुन बाइबलअनुसार पतन भइसकेको छ तर यो मण्डलीको व्यक्तिहरूलाई होइन। यस मण्डली भित्र धेरै राम्रा र साँचो परमेश्वरका जनहरू छन्। तिनीहरूलाई परमेश्वरले बोलाइरहनुभएको छ।

previous
अघिल्लो विषय
अर्को विषय
previous
chat