जब स्वर्ग चूप रहन सकेन
जब स्वर्ग चूप रहन सकेन
आज संसारमा राज्यको विरुद्ध राज्यले लडाइँ गरिरहेको छ र जातिको विरुद्ध जाति उठिरहेको छ। ठाउँ-ठाउँमा अनिकाल, भूकम्प, बाढीपहिरो गइरहेको छ, नयाँ-नयाँ प्राण घातक रोग र महामारी दिनप्रतिदिन बढिरहेको छ। संसार आज अस्तव्यस्त छ। यहाँ जीवनको केही भरोसा छैन कि भोलि के हुने हो। मानिसहरू भविष्यप्रति चिन्तित र त्रसित छन्। तर संसारले यो थाहा पाओस्, कि येशूमा आशा छ। त्यो आशा मानिसको जीवनमा आजभन्दा २ हजार वर्ष पहिले येशूको जन्मले ल्याएको थियो, पहिलो ख्रीष्टमसले ल्याएको थियो।
के तपाईं पनि आफ्नो भविष्यप्रति चिन्तित र त्रसित हुनुहुन्छ? के तपाईंको जीवन पनि यस्तै दु:ख, कष्ट र पीडाले ग्रसित भइरहेको छ? निराश नहुनुहोस्! तपाईंको अवस्था जस्तोसुकै भए तापनि ख्रीष्टमसले तपाईंको जीवनमा महान् आशा र शान्ति ल्याउनेछ। किनकि संसारमा शान्तिको राजकुमार मुक्तिदाता जन्मनुभएको छ।
येशूको जन्म आजभन्दा २ हजार वर्ष पहिले इस्राएलको बेथलेहेम भन्ने गाउँमा कन्या स्त्रीबाट भएको थियो। मरियमको विवाह योसेफ नाउँ गरेको एक धार्मिक पुरुषसँग भएको थियो। तर विवाहभन्दा पहिले नै मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थिईन्। यो कुरा तिनीहरूको विवाह हुनुभन्दा पहिले नै दुवै जनालाई स्वर्गदूत मार्फत् थाहा दिइएको थियो। मरियमलाई आफ्नी श्रीमती बनाई घर लैजान परमेश्वरले नै योसेफलाई आज्ञा गर्नुभएको थियो। तर जबसम्म मरियमले येशूलाई जन्माईनन् तबसम्म तिनीहरूले कहिले पनि सहवास गरेनन्।
यसै समयमा जनगणनाको निम्ति सबै जनाले आ-आफ्नो सहरमा गएर नाउँ दर्ता गर्नू भनी तत्कालीन राजा कैसर अगस्टसले उर्दी जाहेर गरे। योसेफ दाऊदको कुलबाट थिए। त्यसैले उनले नाउँ दर्ता गराउन मरियमलाई पनि आफ्नो पुर्ख्यौली सहर बेथलेहेममा लिएर गए। भीडले खचाखच भएको सहरमा अपरिचित यी जोडीले कुनै पनि घरमा सम्मान पाएनन्। थकित र घरविहीन जोडीले राति वास बस्नको लागि सहरको सबै गल्ली-गल्ली चहारे तर कतै बस्ने ठाउँ पाएनन्। अन्तत: गाईवस्तु बाँध्ने गोठमा तिनीहरूले शरण पाए र त्यहीँ नै संसारको मुक्तिदताको जन्मभयो। र तिनीहरूले बालक येशूलाई लूगाले बेह्रेर डूँडमा सुताए।
प्रभु येशू बाइबलको भविष्यवाणीअनुसार ठीक समयमा र ठीक ठाउँमा अर्थात् बेथलेहेममा जन्मनुभयो। येशू जो अनन्त परमेश्वर हुनुहुन्थ्यो। सारा संसारको सृष्टिकर्ता हुनुहुन्थ्यो। तर उहाँ योसेफ र मरियमको परिवारको एक सदस्य बनेर यस संसारमा आउनुभयो। त्यसको निम्ति उहाँले मरियमको कोखलाई सापटी लिनुभयो। सर्वशक्तिमान् परमेश्वर, ब्रम्हाण्डको राजा येशू मानिसको स्वभाव र हीन शरीर लिएर दुर्बल र अशक्त बालक भएर जन्मनुभयो जसले आफैं केही गर्न सक्दैन, जसलाई सबै कुरामा अरूको सहारा चाहिन्छ। केवल हामीलाई पापबाट उद्धार गर्नको निम्ति उहाँले ईश्वरत्वलाई मानवतासँग साट्नु भयो। स्वर्गको सभ्य र भव्य दरवारलाई असभ्य गाईवस्तुको गोठसँग साट्नु भयो। अनि स्वर्गको महिमित सिंहासनलाई डूँडसँग साट्नु भयो।
तर येशूको जन्म वा मानव अवतारले संसारमा ठूलो शान्ति र आनन्द ल्यायो किनभने उहाँ सारा मानिसलाई पाप र मृत्युबाट उद्धार गर्न आउनुभयो। इम्मानुएल अर्थात् “परमेश्वर हामीहरूसँग” वास बस्न आउनुभयो। तर यो कुरा कसैलाई थाहा थिएन। त्यसैले संसारको मुक्तिदाता जन्मनुभएको शुभ सन्देश मानिसहरूलाई सुनाउन परमेश्वरले आफ्ना स्वर्गदूतलाई गोठालाहरूकहाँ पठाउनुभयो जो राति खेतबारीमा आफ्नो बगालको रखवाली गरिरहेका थिए।
बेथलेहेम सहरको नजिकैको इलाकामा गोठालाहरूले आफ्नो भेंडा बाख्राहरूलाई राति विश्राम र वास दिने ठाउँमा जङ्गली जनावरहरूबाट र चोरहरूबाट सुरक्षा दिन रखवाली गरिरहेका थिए (लूका २:८)। तिनीहरूले रात कटाउन सांसारिक फोस्रा कुराहरू गरिरहेका थिएनन्। तर गम्भिरतापूर्वक मसीहको जन्मको बारेमा कुराकानी गरिरहेका थिए। अचानक तिनीहरूले रातको अन्धकारमा स्वर्गीय प्राणीको तेजमय ज्योति तिनीहरूको वरिपरि चम्केको देखे र तिनीहरू भयभीत भए (लूका २:९)। तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको शहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।” लूका २:१०-११।
यहाँ स्वर्गदूतले घोषणा गरे, कि येशूको जन्मले सबै मानिसहरूलाई ठूलो आनन्द ल्याउनेछ। केवल यहूदी जातिको निम्ति मात्रै होइन तर अन्यजातिको निम्ति पनि यसले आनन्द ल्याउनेछ। त्यसैले आज यो इसाईहरूको निम्ति मात्रै होइन तर जुनसुकै धर्म मान्नेहरूका निम्ति पनि आनन्दको कुरा हो। किनभने संसारको मुक्तिदाताको जन्म भएको छ। “तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एक दल देखा पऱ्यो, परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, ‘सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!’” लूका २:१३-१४।
जब तिनीहरूका कप्तान र प्रभु स्वर्ग छोडेर यस संसारमा असहाय वा अशक्त बालक भएर जन्मनुभयो तब स्वर्गका स्वर्गदूतहरू येशूलाई दण्डवत् गर्न र उहाँको स्तुति गर्न पृथ्वीमा ओर्लिआए। त्यहाँ कति जना स्वर्गदूतहरू आएका थिए? बाइबलले यसरी भन्छ, “आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, ‘परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।’” हिब्रू १:६। त्यहाँ स्वर्गका सारा स्वर्गदूतहरू उपस्थित भएका थिए। त्यस रात स्वर्ग चूप रहन सकेन। हजारौं हजार र दश हजार गुणा दश हजार स्वर्गदूतहरूले बालक येशूलाई दण्डवत् गरे, र उहाँको महिमाको निम्ति तिनीहरूले बेथलेहेमको मैदानमा उहाँको जन्म उत्सवको कन्सर्ट गरे। यही नै पृथ्वीमा भएको सबैभन्दा महान् आराधना र पहिलो ख्रीष्टमस थियो।
प्रभु येशूको पहिलो आगमनको उत्सव मनाउन पाउनु हाम्रो निम्ति पनि अत्यन्तै आनन्दको कुरा हो। यसले हामीलाई हरेक वर्ष परमेश्वरको भलाइ र विश्वसनीयताको सम्झना गराउँछ। र साथै येशूको बलिदान तथा उहाँको दोस्रो आगमनको महान् प्रतिज्ञाको याद दिलाउँछ। आज सारा संसारभरि हामी मानिसहरूले पनि डिसेम्बर २५ तारिखमा (यद्यपि यस दिन येशू जन्मनुभएको त होइन) मुक्तिदाताको जन्मदिन मनाउँछौं। यसकारण कि हामीलाई पापबाट उद्धार गर्न परमेश्वरको पुत्र यस संसारमा जन्मनुभएको छ।
येशूको जन्म केवल यहूदी जातिको निम्ति मात्र थिएन नत इसाईहरूको निम्ति मात्रै थियो तर सारा मानवजातिको निम्ति हो। किनभने यस संसारमा जन्मेका हरेक मानिस परमेश्वरको निम्ति बहुमूल्य छ। याद गर्नुहोस् कि येशू जन्मनु भएको शुभ समाचार सबैभन्दा पहिले गोठालाहरूलाई सुनाइएको थियो। ती गोठालाहरू जसको समाजमा कुनै सम्मान थिएन। जसको बस्ने घरको ठेगान थिएन। किनभने तिनीहरू प्रायजसो समाजदेखि टाढा घर बाहिर पहाड र चउरहरूमा भेंडा बाख्रासँगै बस्दथे। समाजले केही मोलको नठान्ने ती गोठालाहरूलाई स्वर्गले बहुमूल्य ठानेको थियो। तत्कालीन समाजले नीच ठहराइएका तथा समाजबाट अपहेलित तल्लो स्तरका गोठालाहरूलाई परमेश्वरले मूल्यवान ठान्नुभयो।
त्यसरी नै आज तपाईं यो पतित समाजको नजरमा केही मोलको नहोला, तपाईं गरीब र अनपढ हुनुभएकोले यो समाजले तपाईंको अपमान गरेको छ होला। कुनै धर्म र संस्कृतिले तपाईंलाई सानो जात ठहराइएको छ होला, अथवा यस संसारका भगवानहरूले तपाईंलाई अछुत ठहराइएका छन् होला। तर प्रिय मित्र! हाम्रो सृष्टिकर्ता परमेश्वर येशूले तपाईंको सम्मान गर्नुहुन्छ, उहाँको निम्ति तपाईं बहुमूल्य हुनुहुन्छ। तपाईंलाई बचाउन नै उहाँ मानिस भएर यस संसारमा जन्म लिनुभयो र क्रूसमा मर्नुभयो। तपाईंलाई कसैले वास्ता गर्दैन भनेपनि, येशूले तपाईंको वास्ता गर्नुहुन्छ। तपाईंलाई कसैले प्रेम गर्दैन भनेपनि येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँकहाँ आउनुहोस्, र आफ्नो जीवन उहाँलाई दिनुहोस्। तब उहाँले तपाईंलाई उचाल्नुहुनेछ। किनभने उहाँले होचिएकाहरूलाई उठाउनुहुन्छ र नम्रहरूलाई उचाल्नुहुन्छ। अनि अनुग्रह र आशिष्ले भर्नुहुन्छ।
बाइबलमा एक जना योसेफ नाउँ गरेका मानिस थिए। उनलाई आफ्नै दाजुभाइहरूले हेला गरी विदेशीको हातमा दासको रूपमा बेचेका थिए। उनी आफ्नो बुवाआमादेखि टाढा थिए। उनलाई आफ्नै मालिक्नीले बलात्कारीको झूटो आरोप लगाएर जेलमा हालेको थियो। जब विदेशको भूमिमा उनको साथमा कोही थिएन। तब परमेश्वर नै उनको सहारा हुनुभयो। परमेश्वरले उनलाई एउटा दास र कैदीबाट माथि उठाएर मिश्रदेशको प्रधानमन्त्री बनाउनुभयो।
के तपाईंलाई पनि आफ्नो परिवार वा समाजले तुच्छ ठानेको छ? के तपाईंले निराश र एक्लो महसूस गरिरहनुभएको छ? निराश नहुनुहोस्! किनकि तपाईंको उद्धारको निम्ति मुक्तिदाता जन्मनुभएको छ। तपाईंलाई शान्ति दिन र बचाउन येशू तपाईंको छेवै हुनुहुन्छ। तपाईंको सहायताको निम्ति उहाँले आफ्नो हात तपाईंतिर बढाइरहनुभएको छ। उहाँको हात पक्रनुहोस् र उठ्नुहोस्।
अथवा हुनसक्छ तपाईंको जीवन ठीकठाक चलिरहेको छ। तापनि बाइबलले भन्छ, “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।” रोमी ३:२३। हामी सबैले पाप गरेका छौं र परमेश्वरदेखि अलग भएका छौं। त्यसैले हामीबाट शान्ति हराएको छ। बाइबलले भन्छ, “दुष्टलाई शान्ति हुँदैन।” यशैया ४८:२२। हामीले पापको ज्याला मृत्यु भोग्नैपर्छ। यो नराम्रो वा दु:खद समाचार हो।
तर येशूको मानव अवतारचाहिँ सुसमाचार हो। किनभने उहाँले हामीलाई हाम्रो पाप र मृत्युबाट सित्तैँमा उद्धार गर्नुहुन्छ, “तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।” रोमी ६:२३। हामीलाई उहाँसँग मिलापमा ल्याउन र शान्ति दिन परमेश्वरले शान्तिका राजकुमार, येशूलाई हाम्रो निम्ति उपहार दिनुभयो। अनि “विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।” रोमी ५:१। अर्थात् येशूद्वारा हामीले परमेश्वरसँग शान्ति पाउँछौं। येशूले हामीलाई यसरी वाचा गर्नुभएको छ, “म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ।” यूहन्ना १४:२७।
परमेश्वरको स्तुति गर्दै स्वर्गदूतहरूले भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” लूका २:१४।
ख्रीष्टमसको सन्देश भनेको नै शान्ति हो। त्यसैले जसले ख्रीष्टमस मनाउँछ उसले मनमा शान्ति पाउनुपर्छ। येशू शान्तिदाता हुनुहुन्छ। उहाँले हामीलाई अनन्त शान्ति दिनुहुन्छ। त्यसको निम्ति हाम्रो हृदयमा येशू जन्मनुपर्छ र शान्तिको राजकुमार येशूलाई हाम्रो हृदयमा राख्नुपर्छ।
आज यो संसार रणभूमि भएको छ। संसारका मानिसहरू एक अर्कासँग लडिरहेका छन्। आज परिवारमा लडाइँ छ। आमाबुवासँग छोराछोरीको लडाइँ छ। श्रीमान् र श्रीमती बीच लडाइँ छ। छिमेकीको छिमेकीसँगै लडाइँ छ। काम गर्ने ठाउँमा काम गर्ने साथीसाथीमा लडाइँ छ। मालिक र कामदारको बीच लडाइँ छ। मलाई लाग्छ, पक्कै तपाईंको जीवनमा पनि कसै न कसैसँग लडाइँ छ र तपाईंबाट शान्ति हराएको छ। यदि त्यसो हो भने आज नै आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्नुहोस्। उहाँले मात्र तपाईंको जीवनमा साँचो शान्ति ल्याउनुहुनेछ।
यदि तपाईंले परमेश्वरको सामु आफ्नो पापहरूलाई नम्रतापूर्वक स्वीकार गर्नुहुन्छ अथवा पश्चात्ताप गर्नुहुन्छ भने तपाईंको लागि मुक्ति सित्तैँमा उपलब्ध छ। बाइबलले भन्छ, “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गऱ्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गऱ्यौ भने तिम्रो उद्धार हुनेछ।” रोमी १०:९। के तपाईं यो ख्रीष्टमसको अवसरमा मुक्तिको उपहारलाई नम्रतापूर्वक स्वीकार गर्नुहुन्छ? येशूलाई भन्नुहोस् कि “प्रभु, म आफ्ना पापहरूका लागि दु:खित छु र पश्चात्ताप गर्दछु। मलाई बचाउनुहोस्।” उहाँले तपाईंलाई क्षमा दिनुको साथै शान्ति र अनन्त जीवन दिनुहुनेछ।
मेरी ख्रीष्टमस!