के मृतकहरू बोल्न सक्छन्?
के मृतकहरू बोल्न सक्छन्?
संसार जति नै आधुनिकतातर्फ फड्को मार्दैगए तापनि मृत्युको बारेमा यो संसार अन्योल बन्दै गइरहेको छ। किनभने मृत्युपछि के हुन्छ भन्ने कुरा झन्-झन् रहस्यमय विषय बन्दै गइरहेको छ। यसले शिक्षित र अशिक्षित, धनी र गरीब, साना र ठूला, धार्मिक र नास्तिक सबै वर्गका मानिसहरूको लागि एक अद्भूत र डरलाग्दो विचार, अनिश्चितता अनि निराशाको जालो उत्पन्न गराइदिन्छ। मरिसकेका आफ्ना आफन्तहरू अझै जीवितै छन् र तिनीहरू स्वर्गमा शान्तिसँग जिइरहेका छन् भनेर संसारका झण्डै सबै मानिसहरूले विश्वास गर्ने गर्दछन्। त्यो भनेको अमरशील प्राणको अवधारणा हो। बाइबलले यसलाई स्वीकार गर्दैन।
धेरैले पुनर्जन्ममा पनि विश्वास राख्ने गर्दछन्। पुनर्जन्म एउटा यस्तो भ्रम हो जसले मानिसको केवल भौतिक शरीरको मात्र मृत्यु हुन्छ तर उसको आत्मा वा भित्री मनुष्यत्व कहिल्यै पनि मर्दैन। त्यसले अर्को जुनी लिन्छ र ८४ लाख अलग-अलग प्राणीहरूमा जन्म लिएपछि फेरि मानिस भएर जन्मिन्छ। यो प्रक्रिया युग–युगसम्म निरन्तर चलिरहन्छ भनी सिकाउँदछ। तर यो शिक्षालाई बाइबलले पूर्णरूपमा इन्कार गर्दछ। किनभने परमेश्वरले मानिसलाई मानिस नै बनाउनुभयो र पशुपक्षीलाई पशुपक्षी नै बनाउनुभयो।
बाइबलअनुसार मरेकाहरू कहिल्यै पनि फेरि जीवितहरूसँग कुराकानी गर्न सक्दैनन्। किनभने तिनीहरूमा जीवन हुँदैन र तिनीहरूको अस्तित्व माटोमै विलीन भएर जान्छ। बाइबलले मानिस मरेपछि चिहानमा जान्छ वा धूलोमा मिसिन्छ भनेर भन्दछ (हेर्नुहोस् भजनसंग्रह १४६:४; उपदेशक १२:७)। हामी जीवितहरूलाई हामी मर्नेछौं भनी थाहा छ तर मरेकाहरूले त केही पनि जान्दैनन्। त्यही दिन तिनीहरूको योजनाहरू पनि नष्ट हुन्छन्। तिनीहरूको सम्झना, प्रेम, घृणा र ईर्ष्या सबै लोप हुन्छन्। अब तिनीहरूको निम्ति केही प्रतिफल हुँदैन (हेर्नुहोस् उपदेशक ९:५–६)।
तिनीहरूको न केही गर्ने योजना, न ज्ञान, न बुद्धि नै हुन्छ। जबसम्म परमेश्वरले तिनीहरूलाई फेरि जीवित पार्नुहुँदैन तबसम्म तिनीहरूले आफ्नो जीवनलाई कहिले पनि निरन्तरता दिन सक्दैनन् (हेर्नुहोस् उपदेशक ९:१०; अय्यूब १४:१२) र तिनीहरूले परमेश्वरको प्रशंसा गर्न सक्दैनन् (भजनसंग्रह ६:५; ११५:१७)।
मानिसको प्राण स्वाभाविक रूपमै अमर छ भन्ने झूटो शिक्षा सर्वप्रथम शैतानले अदनको बगैँचामा हव्वालाई सिकाएको थियो। शैतानले हव्वालाई यसरी छल गऱ्यो, “तिमीहरू मर्दैनौ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वरजस्तै हुनेछौ।” उत्पत्ति ३:४–५।
तर परमेश्वरले आदमलाई “असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।” (उत्पत्ति २:१७) भनी भन्नुभएको थियो। जब परमेश्वरले खान निषेध गर्नुभएको फल आदम र हव्वाले खाएर पाप गरे तबदेखि अहिलेसम्म शैतानले मानिसहरूमाथि प्रभुत्व जमाउने मौका पाइरहेको छ।
शैतानले प्राचीन समयदेखि नै तन्त्रमन्त्र, जादूटुनाद्वारा अनौठा र ठूला–ठूला चमत्कारी कामहरू गर्ने, मरेका आफन्तहरूको स्वरूप लिएर प्रकट हुने र तिनीहरूलाई सल्लाह सुझाव दिनेजस्ता अलौकिक कार्यहरू मार्फत् मानिसहरूलाई छल गर्दै आइरहेको छ। उसले मानिसहरूलाई तन्त्रमन्त्र, जादूटुना र बोक्सी विद्याहरूमा मोहित पारेको छ। तन्त्रमन्त्र, जादूटुना गर्नेहरूले मरिसकेका तिनीहरूका आफन्तहरूबाट त्यो शक्ति पाएको दाबी गर्दछन् तर यो शैतानको छल मात्र हो। किनकि मरेको मानिसले केही गर्न सक्दैन।
स्वाभाविक रूपमै प्राण अमर हुन्छ भन्ने अवधारणा मूर्तिपूजक धर्महरूले बोकेको प्राचीन विश्वास हो। यो सबैभन्दा पहिले प्राचीन मिश्र र बेबिलोन देशहरूमा सिकाइएको थियो भनी इतिहासले बताउँछ। सन् ३२१ मा आइतबार पवित्रता र स्वाभाविक रूपमा प्राण अमर हुन्छ भन्ने दुई वटा झूटा शिक्षाहरूलाई कन्स्टेन्टाइनले इसाई विश्वासको रूपमा मूर्तिपूजक संसारबाट भित्र्याएको थियो। यो झूटो विश्वासले आज संसारका अधिकांसा इसाईहरूलाई विनाशको खाल्डोतिर धकेलिरहेको छ। तिनीहरू पावलको भविष्यवाणी अनुसार भूतप्रेतको सिद्धान्ततिर जोडतोडले लम्किरहेका छन्।
मानिस मरेर कहिले पनि भूतप्रेत बन्दैन। तर दुष्ट आत्माहरू नै मानिसहरूलाई छल गर्न मृतकहरूको स्वरूपमा जीवितहरूकहाँ देखा पर्दछन्। मृतकहरू अझै जीवितै छन् भनेर विश्वास दिलाउन तिनीहरूले मरेकाहरूको स्वरूप, स्वभाव र चरित्रलाई दुरुस्तै नक्कल गर्छन् र जीवितहरूकहाँ प्रकट हुने गर्दछन् (हेर्नुहोस् २ कोरिन्थी ११:१४–१५)। ती दुष्ट आत्माहरू भनेको स्वर्गबाट फालिएका पतित स्वर्गदूतहरू हुन्। मानिसको सृष्टिपूर्व नै स्वर्गमा ख्रीष्ट र शैतानको बीचमा लडाइँ भएको थियो। येशूले शैतान र उसको पछिलाग्ने पतित स्वर्गदूतहरूलाई स्वर्गबाट तल फालिदिनुभयो। स्वर्गबाट फालिएपछि लुसिफरलाई शैतान र तिनका दूतहरूलाई दुष्ट आत्मा भनियो (हेर्नुहोस् प्रकाश १२:३–४, ७–१०)।
मानिस एक मरणशील प्राणी हो र मृत्युपछि उसले केही गर्न सक्दैन। जबसम्म येशूको आगमन हुँदैन, तबसम्म मृत्युपछि मानिस माटोमा निर्जीव धूलो भएको हुन्छ (हेर्नुहोस् भजनसंग्रह ९०:३; अय्यूब १४:१२)। येशूको दोस्रो आगमनमा मात्रै मानिसले फेरि जीवन प्राप्त गर्नेछ र धर्मीजनले अनन्त जीवन, अनि पापीले अनन्त मृत्यु पाउनेछ। केवल परमेश्वर मात्रै अमर, अविनाशी र अनन्त हुनुहुन्छ (हेर्नुहोस् १ तिमोथी १:१७)।
बाइबलले हिब्रू ११:४ पदमा हाबिल मरे “तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्।” भनेर भनेको छ। धेरैले यो पदलाई गलत बुझेका छन्। त्यस पदले हाबिल शारीरिक रूपमै वा उसको आत्माले बोलिरहेको छ भनेर भन्न खोजेको होइन। तर हाबिल जीवित हुँदा जुन विश्वासको जीवन उनले जिएका थिए त्यही जीवन गवाही वा उनका कामहरूद्वारा उनी अझै बोल्दैछन् भनेर भनेको हो। जस्तो बाइबलले भन्छ, “किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।” प्रकाश १४:१३। हाबिल मरिसके र उनी अहिले मृत्युको गहिरो निद्रामा सुतिरहेका छन्।
धेरै मानिसहरूले मत्ती १०:२८ पदमा प्रभु येशूले बोल्नुभएको “तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्।” भन्ने वचनलाई गलत उद्धृत गर्दै मानिसको आत्मा मर्दैन भनेर सिकाउँछन्। तर के यो पदले आत्मा मर्दैन भनेर भन्छ? होइन, यसले त त्यसको ठीक उल्टो आत्माको मृत्यु हुन्छ भनेर भन्छ। आउनुहोस् यो पदको अन्तिम भागलाई हामीले ध्यान दिएर पढौं।
“बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।” हेर्नुहोस् त! यहाँ आत्मालाई नरकमा नाश गर्न सकिने कुरा बताइएको छ। तर यो याद गर्नुहोस् कि यहाँ आत्माको अर्थ अनन्त जीवन हो जुनचाहिँ धर्मीजनहरूलाई येशूको दोस्रो आगमनमा परमेश्वरले उपहार स्वरूप दिनुहुनेछ (हेर्नुहोस् रोमी ६:२३; यूहन्ना ६:५४)।
आत्मा भनेको परमेश्वरले दिनुभएको जीवनको सास हो जसलाई परमेश्वरले हरेक प्राणीहरूमाथि फुकिदिनुभयो (हेर्नुहोस् उत्पत्ति २:७; अय्यूब ३३:४)। बाइबलमा आत्मा र सासलाई पर्यायवाची शब्दको रूपमा प्रयोग गरिएको छ। अय्यूबले भनेका छन्, “जीवन दिने उहाँको आत्मा र सास फर्काइलानुभयो भने, क्षणभरमा नै सबै जीवित प्राणीहरू नष्ट हुनेछन्, र मानिस फेरि माटामा नै फर्किजानेछ।” अय्यूब ३४:१४-१५।
शरीरबाट आत्मा अलग भएपछि मानिस मर्दछ र मृत्युपछि सबैको आत्मा परमेश्वरकहाँ फर्केर जान्छ, चाहे त्यो धर्मी मानिसको होस् वा पापी मानिसको होस् (हेर्नुहोस् उपदेशक १२:७)। केवल मानिसको आत्मा मात्र नभई सबै प्राणीको आत्मा पनि परमेश्वरकहाँ फर्केर जान्छ (हेर्नुहोस् उपदेशक ३:१९–२१)। त्यो आत्मा भनेको जीवनको सास मात्रै हो। यसको विवेक वा चेतना हुँदैन। जसरी मृत शरीरले बोल्न सक्दैन त्यसरी नै शरीर विनाको आत्माले पनि बोल्न सक्दैन।
प्राण वा प्राणी भनेको जीवित वस्तु हो। जीवित वस्तु वा प्राणी भनेको शरीर र आत्माको संयुक्त रूप हो। शरीरबाट आत्मा छुट्टिएपछि प्राणी मर्छ। बाइबलले भन्छ, “त्यो प्राण, जसले पाप गर्छ, त्यही मर्छ।” इजकिएल १८:२०। त्यसैले स्वाभाविक रूपमा हाम्रो प्राण अमर छैन तर येशूले हामीलाई उहाँको दोस्रो आगमनमा अमरत्व दिनुहुनेछ।